काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको नेतृत्व गलत भएकाले त्यहाँ रहेका इमान्दार कम्युनिष्ट रनभुल्लमा परेको बताएका छन् ।
शुक्रबार कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेको तर, नेतृत्वमा गलत व्यक्ति पर्दा इमान्दार कम्युनिष्टलाई फुत्किन गाह्रो भएका बताए ।
‘नेतृत्व भन्ने कुरा ठूलो हुँदो रहेछ । लिडरसिप गलत मान्छेको हातमा गयो भने इमानदार कम्युनिस्टहरु पनि केही समय रनभुल्लमा पर्ने या फुत्किन गाह्रो हुने हुँदो रहेछ ।’ प्रचण्डले भने, ‘नेकपा एमालेका कामरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेता÷कार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन् ।’
एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले बताए ।
प्रचण्डले पूर्वमाओवादीहरु मूल घरमै फर्किने अभियान सुरु भएको पनि जिकिर गरेका छन् । कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘फेरि एक चोटी माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्ण ध्रुवीकरण सुरु भएको छ । दिन दिनैजसो सयौं संख्यात्मक मात्रै होइन, हिजो अलग भएका माओवादीहरु फेरि माओवादी केन्द्रको मूल घरमा, मूल नेतृत्वमा जोडिने निकै ठूलो प्रक्रिया सुरु भएको छ । यो क्रम पूर्वदेखि पश्चिमसम्म व्यापक रुपमा अगाडि बढेको छ ।’
प्रचण्डले विभाजित भएको पूर्वमाओवादी समूहमा विभाजनको औचित्य पुष्टि गर्न नसकिएको बारे बहस सुरु भएको समेत बताए । प्रचण्डले आफूहरुका लागि फेरि एक चोटी अवसर आएको भन्दै प्रचण्डले सम्पूर्ण माओवादी समूहलाई गाली नगरी एकतामा आउन आग्रहसमेत गरे ।
उनले भने, ‘किन माओवादी केन्द्रलाई गाली गरियो ? किन प्रचण्डलाई गाली गरियो ? हामीले पश्चाताप गर्नुपर्दछ । माओवादी केन्द्रमा जानुपर्दछ । हामी प्रचण्ड भएको ठाउँमा जानुपर्दछ र हामीले गल्ती ग¥यौं भन्ने बाँकी साथीहरु भित्रका पनि मैले कुरा सुनि राखेको छु ।’