२८ प्रतिशतले बढ्यो व्यापार घाटा, नौ महिनामा २ खर्बको पेट्रोलियम आयात
अखबार टुडे
प्रकाशित:
२०७९, ९ बैशाख

काठमाडौं, ९ वैशाख । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) ६९.४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार नौ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो ।

चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।

२८ प्रतिशतले बढ्यो व्यापार घाटा
निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो ।

चालू आवको ९ महिनामा नेपालले रु १३ खर्ब छ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले रु १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तैगरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा रु १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु बाह्र खर्ब छ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

दुई खर्बको पेट्रोलियम पदार्थको आयात

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार नेपालले २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ ।

९ महिनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोलको आयात भएको हो ।

४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ भने ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ ।

१६२ देशबाट आयात
विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट रु १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ ।

तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने १ खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट नौ महिनामा २ खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ ।

प्रतिक्रिया