युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, ९ बैशाख

काठमाडौं, ९ बैशाख। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता प्रदान गर्ने घोषणा गरेका छन् ।

८० करोड डलर बराबरको सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । उक्त सहायता सीधा स्वतन्त्रताको अग्रपङ्क्तिमा पठाइने राष्ट्रपति बाइडनले बताएका छन् ।

यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन् । गत फेब्रुअरी २४ मा रुसी हमला भएयता तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकिएको बताइएको छ ।

यसैबीच रुसले पूर्वी युक्रेनमा आफ्नो आक्रमण जारी राख्दै डोनबास क्षेत्रका ४० भन्दा बढी गाउँहरू कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रणनीतिक सहर मारिउपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गरेका छन् ।

उनले मारिउपोलमा अझै युद्ध जारी रहेको र युक्रेनी प्रतिरोधलाई मद्दत गर्न कूटनीतिक र रणनीतिक उपाय खोजिरहेको बताएका छन् । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले पनि मारिऊपोल पूर्ण रूपमा रुसी नियन्त्रणमा गएको भनिएको कुरा शंकास्पद रहेको बताएका छन् ।

मारिऊपोल सिटी काउन्सिलले प्रकाशित गरेको एउटा तस्बिरमा रुसी सेनाले उक्त सहरको सामूहिक चिहानमा कैयौँ शवहरू पुरिरहेको जस्तो देखिएको छ । तर स्वतन्त्र रूपमा पुष्टि भएको छैन् । रुसले पनि त्यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि राखेको प्रस्तावलाई रुसले अस्वीकार गरेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया