तत्कालका लागि प्रतिगमन पराजित भयाे, तर खतरा पूर्णतः अन्त्य भएको छैन – प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ९ बैशाख

काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बतएका छन् ।

उनले यही वैशाख ३० को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र जनसमुदायमा विशेष अपिल गरेका छन् ।

भ्लादिमिर इलिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले न्याय, समानता र स्वतन्त्रताको सङ्घर्षमा बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

रुसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दैै उनले कम्युनिष्ट क्रान्तिकारीको अगुवाइ र लोकतान्त्रिक शक्तिको हिस्सेदारीमा पूँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको बताए ।

‘देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा रहेको छ, यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो’, अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ ।

वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिको साझा सङ्घर्षको परिणाम तत्कालका लागि प्रतिगमन पराजित हुन पुगे पनि खतरा पूर्णतः अन्त्य नभएको उनको भनाइ छ ।

‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार ग¥यो,’ उनले विज्ञप्ति थप भनेका छन्, ‘वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन’ ।

प्रतिक्रिया