मारिउपोल कब्जा गरेको रुसको दाबी, पुटिनद्वारा खुसी व्यक्त
अखबार टुडे
प्रकाशित:
२०७९, ८ बैशाख

काठमाडौं, ८ वैशाख । रुसले लामो समयदेखि ठूलो लडाइँ चलिरहेको युक्रेनी बन्दरगाह सहर मारिउपोल कब्जा गरेको दाबी गरेको छ ।

एजोभस्टल स्टिल कारखाना कब्जा गरेसँगै रुसले मारिउपोल सहर नै आफ्नो नियन्त्रणमा आएको बताएको हो । तर स्टिल कारखानामा अझै झन्डै दुई हजार जना युक्रेनी सेना सुरुङमुनि बसिरहेका अनुमान गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोल सहरले मुक्ति पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले अब कारखाना बन्द गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।

मारिउपोलको स्टिल कारखानामा आक्रमण र बम वर्षा गर्नुको सट्टा घेराबन्दी गर्न पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई निर्देशन दिएको छ । तर उनले कारखानाबाट एक जना व्यक्ति पनि भाग्न नपाउने निश्चित गर्न सेनालाई निर्देशन दिएको बताइएको छ ।

मारिउपोलका बाँकी ठाउँ अघिल्लो हप्ता नै कब्जा गरे पनि रुसले एक विशाल स्टिल कारखाना नियन्त्रणमा लिन सकेको थिएन । रुसले यसअघि तीन पटकसम्म आत्मसमर्पणको अल्टिमेटम दिए पनि युक्रेनी सेनाले आत्मसमर्पण गरेको थिएन ।

प्रतिक्रिया