काठमाडौं, ८ वैशाख । काठमाडौं, ८ वैशाख । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना महामारीका कारण चीनबाट बीचैमा पढाइ छाडेर स्वेदश आएका नेपाली विद्यार्थी फर्काउने विषयमा छलफल भइरहेको बताएकी छिन् ।
बिहीबार चिनियाँ दूतवासाले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत होउले भनिन्, ‘दुवै देशका परराष्ट्मन्त्रीबीच पनि यस विषयमा छलफल भएको छ । दुवै देशका अधिकारीहरु पनि छलफल भइरहेको छ ।’ उनले हवाइ सेवा बन्द रहेको कारण अहिले फर्काउन कठिनाइ रहेको बताइन् ।
राजदूत यान्छीले भने तत्कालै रेलमार्ग बनाउन सम्भव नभएको बताइन् । ‘मलाई केही विज्ञहरूले सबै कुरा एकदम सहज तरिकाले भए सीमापार रेलवेको विस्तृत सम्भाव्यता सक्न ५–६ वर्ष लाग्छ भनेका छन्,’ राजदूत यान्छीले भनिन्, ‘यो क्षेत्रको भूबनावट पनि निकै जटिल छ । सँगैसँगै हामीले त्यहाँको वातावरणीय प्रभाव पनि हेर्नुपर्ने हुन्छ ।’
रेलवे बनाउन दुबै देशको प्रतिवद्धता र नीतिगत निरन्तरता चाहिने बताइन् । उनले थप भनिन्, ‘यस्ता आयोजना आजको भोलि बन्दैनन् । त्यसका लागि वर्षौं लाग्छ । आयोजना बनाउन नीतिगत निरन्तरता चाहिन्छ ।’
उनले नेपालमा बढी भएको बिजुली चिनियाँ बजारसम्म लैजान प्रसारण लाइन चाहिने र त्यसबारे छलफल गरिरहेको बताइन् । चीनमा नेपालबाट बिजुली निर्यात गर्न सीमा क्षेत्रमा विशेष आर्थिक क्षेत्र बनाउन सकिने बताउदै उनले भनिन्, ‘अहिले हामी नेपाल–चीन सीमानजिकै साना आर्थिक क्षेत्र बनाउनेबारे छलफल गरिरहेका छौं । ती आर्थिक क्षेत्रमा नेपालको बिजुली प्रयोग गर्न सकिन्छ ।’
उनले आफ्नो विचारमा नेपालमा धेरै भएको बिजुली भारत वा चीनलाई निर्यात गर्न सक्ने बताइन् । तर नेपालमै यसको उपयोग गर्नु त्योभन्दा फाइदाजनक हुने उनको भनाइ छ । औद्योगिकीकरण र कृषिलाई आधुनिकीकरण गरेर नेपालभित्रै बिजुलीको खपत बढाउन सकिने उनको धारणा थियो ।
केही समयअघि भएको चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणदेखि तातोपानी र रसुवागढी नाका राम्ररी सञ्चालन हुन नसकेकोलगायत विषय उनको ब्रिफिङमा समावेश थियो ।