काठमाडौं, ८ वैशाख । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी काठमाडौं आइपुगेका हुन् ।
उनीसँगै डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहेका छन् । उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायतका अधिकारीले स्वागत गरे ।
भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
मन्त्रालयका अनुसार नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग छलफल गर्ने छन् भने टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन समेत गर्ने छन् । गेब्रेयसस नेतृत्वको टोली वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ ।
डा. ट्रेडोसले आगामी मे महिनामा हुने विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा महानिर्देशक पदमा नियुक्तिका लागि फेरि पनि मनोनयन दिएका छन् । इथियोपियाका नागरिक टेड्रोस महानिर्देशक चयन हुनु अघि त्यहाँका परराष्ट्र मन्त्री थिए । उनलाई दोस्रो कार्यकालका लागि यूरोपियन राष्ट्रहरु र केही अफ्रिकी राष्ट्रले समर्थन गरेपनि आफ्नै देशले भने समर्थन गरेको छैन ।