काठमाडौं, ८ वैशाख । घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह शहर मारिउपोललाई लिएर रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न युक्रेन तयार रहेको बताएका छन् ।
युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकका अनुसार आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइते लगायतलाई बचाउन आफूले वार्ताको प्रस्ताव गरेको ट्वीटमार्फत जनाकारी दिएका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उद्देश्यले वार्ताको प्रस्ताव पठाएको खबरमा उल्लेख छ ।
मारिउपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेका विवरण आइरहेका छन् । रुसी गणतन्त्र चेचन्याका नेता रमजान कादिरोभले बिहीवारसम्म रुसले मारिऊपोललाई नियन्त्रणमा लिइसक्ने बताएका छन् ।
मारिउपोललाई नियन्त्रणमा लिनसके त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी शहर हुनेछ । युक्रेनी मरिन कमाण्डरले आफूहरू अपर्याप्त सङ्ख्यामा रहेको, आपूर्तिका सामान सकिरहेको र अन्तिम दिन वा घण्टामा पुगेका बताएका छन् ।
रुसका लागि मारिउपोल किन महत्वपूर्ण ?
सुरुदेखि नै रुसी सेनाले उक्त बन्दरगाह शहर मारिउपोललाई आफ्नो रणनीतिक उद्देश्यसहित निसानामा राखेको छ । बीबीसीका अनुसार पहिलो कारण मारिऊपोलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्ने भएकाले हो ।
मारिउपोल एजोभ सागरको बन्दरगाह भएकाले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्न सकिने रुसको आकलन छ । मारिउपोलमा एजोभ ब्रिगेड नामक युक्रेनी लडाकुहरूको समूह छ । उक्त समूहमा उग्रदक्षिणपन्थी अतिवादीहरू छन् । युक्रेनी लडाकु समूहमा उक्त समूह निकै सानो भए पनि रुसले युक्रेनमा नवनाजीहरू रहेको भनेर प्रचार गरिरहेको छ ।
मारिउपोलमा विजय हात पार्न सके मस्कोले आफ्नो सैन्य कारबाहीबाट नवनाजीलाई दमन गर्न सकिएको भनेर व्यापक प्रचार गर्न सक्छ । मारिऊपोलमा रुसले युक्रेनलाई परास्त गरे दुवै पक्षमा त्यसको मनोवैज्ञानिक प्रभाव पर्ने देखिन्छ ।
रुसले सरकारी सञ्चारमाध्यमबाट युक्रेनमा आफ्नो सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गर्न सक्छ । युक्रेनमा धावा बोल्ने रुसी राष्ट्रपतिका लागि यसको ऐतिहासिक महत्त्व छ ।
उनी युक्रेनको ब्ल्याक सीको तटीय क्षेत्रलाई नोभोरोसिया (नयाँ रुस) अर्थात् अठारौँ शताब्दीमा रुसी साम्राज्यको भूभागको रूपमा हेर्छन् । पुटिन कीभस्थित पश्चिमतिर ढल्किएको सरकारको उत्पीडनबाट रुसीलाई उद्धार गरेर उक्त अवधारणलाई बिउँताउन चाहन्छन् । त्यो उद्देश्यको बीचमा अहिले मारिऊपोल रहेको छ ।
युक्रेनले भन्यो कीभ बाहिर ९ वटा शव भेटियो, केहीमा यातनाको सङ्केत
युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार ती मृतकको देहमा केही यातनाको सङ्केत पनि देखिएको छ ।
‘यी मानिसहरूलाई नियन्त्रणमा लिएर मारेको हुनसक्ने यातनाका संकेतहरू देखाएका छन्। ती मानिसहरू सर्वसाधारण थिए । रूसी सेनाले जानाजानी कुनै पनि प्रतिरोध नगर्ने नागरिकहरूलाई गोली हाने मारेको,’ कीभ क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।
यसैबीच, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र डेनमार्कका समकक्षी मेटे फ्रेडेरिक्सन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न बिहीबार कीभ पुगेको स्पेन सरकारले जनाएको छ ।
सान्चेजले बुधबार बताएअनुसार उनले जेलेन्स्कीलाई युरोपेली युनियन र स्पेनको ‘शान्तिको लागि स्पष्ट संलग्नता’ को बारेमा जानकारी दिनेछन् । भेटघाटको विस्तृत विवरण भने आउन बाँकी छ ।