
काठमाडौं, ८ वैशाख । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ ।
आज बिहान १० बजे अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । विष्फोटमा परी सात जना घाइते मध्ये एकजनाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घाइतेहरुलाई तत्कालै उद्धार गरेर अस्पतालमा पठाएको उनले बताए । घाइतेहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
उद्योग सन्चालकका अनुसार विस्फोट हुने बेलामा १० जना कार्यरत थिए । दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । सात जना घाइतेहरु अस्पतालमा छन् । गम्भीर घाइते एक जनाको खुट्टा चुँडिएको छ ।
प्रहरीका अनुसार घटनाको विस्तुत अनुसन्धान भइरहेको छ । विस्फोटपछि घटनास्थलको अवस्था निकै भयावह देखिन्छ । उपाध्यायका अनुसार उद्योगको छाना केही बाँकी छैन भने टाढा–टाढाका घरहरुका सिसा पनि फुटेका छन् ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिएको छ । गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानविन गर्न निर्देशन दिएको हो ।