यो निर्वाचनमा अग्रगमन र प्रतिगमनका पक्षधर ध्रुवीकृत भएको छ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ८ बैशाख

धनगढी, ८ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टिका स्वर केही समयमै साम्य हुने बताएका छन् ।सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा टुंग्याएपछि गठबन्धनभित्र देखिएको असन्तुष्टिबारे उनले यस्तोा बताएका हुन् । अध्यक्ष प्रचण्डले असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका समेत बताए ।

बिहीबार सुदूरपश्चिम प्रदेश पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरूसँग अन्तरक्रियामा भने, ‘टिकट वितरण गर्दा एउटा पार्टीभित्र त असन्तुष्टि देखिन्छ, यहाँ त गठबन्धनको कुरा छ । तर असन्तुष्टि धेरै ठूलो छैन । असन्तुष्ट रहनुभएका साथीहरूले पनि केही दिनमा कुरा बुझ्नुहुन्छ । यो शान्त र साम्य हुन्छ भन्ने आशा लिएको छु ।’

प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनमा अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भएको जिकिर दावी गरे । ‘एकतातिर अग्रगमनका पक्षधरहरू एक जुट भएका छन् भने अर्कोतिर प्रतिगमनका समर्थकहरू छन्’ उनले भने, ‘हिजो राजा महाराजसँग सम्बन्धित शक्तिहरूदेखि अरू कुनै दलाल शक्तिहरू कहिले ८ दल कहिले ९ दल भनेर जुटेका छन् । अग्रगमनका पक्षधरहरू र यो प्रगतिलाई उल्टाउने कोसिस गर्नेहरुबीच ध्रुवीकरण देखिएको छ । त्यसैले यो निर्वाचनलाई परिवर्तन जोगाउने आन्दोलनको अङ्गकै रूपमा लिनुपर्छ ।’

उनले केन्द्रमा भएको सहमतिसँगै अन्य ठाउँमा पनि गठबन्धनबीच तालमेल हुने विश्वास आफूले लिएको बताए । उनले भने, ‘हामीले वक्तव्यमा पनि गठबन्धनमा अधिकतम जोड गर्ने भनेका छौँ । तलका साथीहरूले पनि त्यही भावना र मर्मलाई आत्मसात् गर्ने अपेक्षा छ ।’

प्रतिक्रिया