गठबन्धन टुट्नेबित्तिकै कांग्रेसको हालत पहिलेकै जस्तो हुन्छ: प्रधानमन्त्री देउवा
अखबार टुडे
प्रकाशित:
२०७९, ६ बैशाख

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले अरू दलसँग चुनावी गठबन्धन नगर्ने हो भने कांग्रेसको हालत पहिलेकै चुनावको जस्तो हुने बताएका छन् ।

मंगलबार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले भने, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, गठबन्धन टुट्नेबित्तिकै हाम्रो हालत पहिले जस्तै हुन्छ, पहिले एमाले र माओवादी मिल्दा के भएको थियो ? भोलि त्यही अवस्था नआओस्, नयाँ संविधानअनुसार एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन, कसै न कसैसँग त मिल्नैप¥यो । अब गठबन्धनलाई राम्रोसँग अघि बढाउनुपर्छ’ ।

उनले गठबन्धनको आलोचना र विरोध नगर्न आग्रह गरे । गठबन्धन लेनदेनको विषय पनि भएकाले सबैतिर कांग्रेसले मात्रै पाउनुपर्छ भनेर अडान लिन नहुने पनि देउवाको भनाइ छ ।
‘गठबन्धनमा गिभ एन्ड टेकको कुरा हुन्छ, कांग्रेसलाई मात्रै दिनका लागि अरू दलले गठबन्धन गरेका होइनन् नि । कांग्रेस पार्टी ठूलो छ, ठूलै पार्टी होस् । अरूले सानै अनुसार भाग खोजेका छन् । यसमा किन आपत्ति जनाउनुप्यो र !’, देउवाले भने ।

माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँगको गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री पाएको, एउटा पनि मुख्यमन्त्री नभएको अवस्थामा गण्डकी र कर्णालीमा मुख्यमन्त्री पाएको र अरू सरकारमा पनि सहभागी भएको, विभिन्न ठाउँमा सम्मानजनक उपस्थिति रहेको प्रधानमन्त्री देउवाले बताए ।

प्रतिक्रिया