काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनको तागत देखेर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओली हतासको अभिव्यक्ति दिइरहेको बताएका छन् ।
मंगलबार नेविसंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव नजिकिंदै छ । गठबन्धनको शक्ति बलियो छ । यो शक्ति देखेर केपी ओली थर्थरी काँपेका छन् । हतास भएका छन् र हतासमा अभिव्यक्ति दिइरहेका छन् ।’
पौडेलले मुलुकमा परिवर्तन ल्याउनका लागि आगामी संघीय निर्वाचनसम्मका लागि मिलेर जानुपर्ने बताए । उनले सत्तारुढ दलहरूको गठबन्धन व्यवस्था बचाउनका लागि भएको बताउँदै भने, ‘यो गठबन्धन सत्ताका लागि होइन, व्यवस्थाका लागि हो । यो गठबन्धन शेरबहादुर देउवालाई प्रधाानमन्त्री बनाउनका लागि होइन । यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनका लागि हो,’ ।
ओलीले जस्ता पनि व्यक्तिहरूलाई गठबन्धनमा हातेमालो गर्न लागिरहेको आरोप लगाउँदै पौडेलले जस्ता शक्तिसँग पनि हातेमालो गर्न राम्रो नभएको बताए । उनले गठबन्धनका सदस्यहरूले आ–आफ्नो हैसियत, कर्तव्य ,दायित्व बुझेर स्थानीय निर्वाचित र आउँदा चुनाव पनि सफल पार्नका लागि एकताबद्ध भएर जानुपर्ने बताए ।