रुसले मारिऊपोलमा आत्मसमर्पण गर्न युक्रेनी फौजलाई दिएको अल्टिमेटम सुरु
अखबार टुडे
प्रकाशित:
२०७९, ४ बैशाख

काठमाडौं, ४ बैशाख । रुसले मारिऊपोलमा तैनाथ युक्रेनी सैनिकहरूलाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको समय सुरु भएको छ । रुसी सेनाले अबको केही घण्टाभित्र आत्मसमर्पण गरेमा युक्रेनी सैनिकहरुको जीवन जोगाउने सुनिश्चित गर्ने बताएको छ ।

रुसी फौजहरूले उक्त शहरका स्टील कारखानाहरू रहेको एउटा सानो क्षेत्रबाहेक लगभग सबै ठाउँबाट प्रतिरोध हटाएको बीबीसीले जनाएको छ । रुसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त उद्योग क्षेत्रको अवस्था निक्कै खराब रहेको छ ।

रुसी फौजहरूले एजोभस्टाल स्टिल कारखाना क्षेत्रमा रहेका सबै सैनिकहरूलाई हतियार र गोलीगठ्ठा बिसाएको खण्डमा जान दिइने जनाएको हो । त्यस्तो गर्ने सबैलाई युद्ध बन्दी सम्बन्धी जिनिभा महासन्धि अनुसार व्यवहार गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

यदि उनीहरूले त्यसलाई स्वीकार गरे भने रुसी फौजहरूले ६ बजे रातो झन्डा देखाउनेछन् र युक्रेनीहरूले स्टील कारखानाको क्षेत्रभर सेतो झन्डा देखाउनुपर्नेछ ।

तर युक्रेनी अधिकारीहरूले रुसी सैनिकहरुको उक्त योजना स्वीकार गर्ने कुनै सङ्केत दिएका छैनन् । शनिवार राष्ट्रपति जेलेन्स्कीले रुसले मारिऊपोलमा बाँकी सैनिकहरूको हत्या गरे शान्ति वार्ता भङ्ग हुने चेतावनी दिएका थिए ।

मारिऊपोलका मेयरले कम्तीमा २० हजार गैर सैनिकहरू हप्तौँदेखिको निरन्तर हमलामा मारिएको जनाएको छ । घेराबन्दीमा परेको उक्त शहर लडाइँको केन्द्रमा रहेको युक्रेनी नेतृत्वले बताउँदै आएको छ । निरन्तरको गोलाबारीले उक्त शहरलाई भग्नावशेषमा परिणत गरेको छ जसका कारण गैर सैनिकहरू घरमुनि बनाइएका भूमिगत आश्रयस्थलमा लुकेको जनाइएको छ ।

यसैबीच रुसले पश्चिमा देशहरूले उपलब्ध गराएको हतियार बोकेको एउटा युक्रेनी सैनिक विमानलाई आफूले खसालिदिएको जनाएको छ । दक्षिण पश्चिम युक्रेनको ओडेसा शहरमा उक्त आक्रमण भएको रुसी समाचार संस्था टासले रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै जनाएको हो । तर कुनै मानवीय क्षति भयो या भएन भन्ने प्रस्ट भने भइसकेको छैन ।

प्रतिक्रिया