लमजुङ, २ बैशाख । अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले प्रतिपक्षमा बस्ने पार्टी नभएको बताएका छन् ।
शुक्रबार लमजुङको घलेगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यहाँहरूलाई थाहा छ, अहिले नेकपा एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन । जालझेल गरेर एक छिन प्रतिपक्षमा पुर्याए पनि हामी फेरि सरकारमा पुग्छौं’ ।
उनले त्यसका लागि तपाईहरूको सहयोग र साथ चाहिने बताउँदै एमालेले देश र जनताको आकांक्षा बुझेको दाबी गरे । उनले भने, ‘एमालेले जनताको चाहना बुझेको छ । जनताको समृद्धिको चाहना बुझेको छ । त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ’, उनले भने,‘बाटा घाटा विद्यालय, खानेपानी, अस्पताल हुनुपर्छ त्यो एमालेले बुझेको छ ।’
अध्यक्ष ओलीले घलेगाउँको बाजागागाँका लागि २ लाख रूपैयाँ सहयोग दिनेसमेत बताए । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उनको भनाई थियो ।