अमेरिकाले दिने ८० अर्बको अनुदान र विश्व बैंकको १८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, २ बैशाख

काठमाडौं, २ बैशाख । सरकारले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडका अध्यक्ष रामाआधार कापरको राजीनामा स्वीकृत गरेको छ । त्यसैगरी विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गरिएको छ ।

मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने र कर्जान्हा नगरपालिका सिरहालाई प्रशासकिय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया