रुस-युक्रेन युद्ध: विस्फोटका कारण क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो
अखबार टुडे
प्रकाशित:
२०७९, २ बैशाख

काठमाडौं, २ बैशाख। विस्फोटका कारण क्षतिग्रस्त रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको छ । बिहीवार मस्क्भालाई किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसको रक्षामन्त्रालयले जनाएको हो ।

मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले दाबी छ । १२ हजार टन तौलको उक्त पानीजहाज दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो भएको बीबीसीले जनाएको छ ।

रुसी भाषामा मस्कोलाई भनिने मस्क्भा नाम दिइएको सो लडाकू पानीजहाज वास्तवमा रुसी सेनाको शक्तिको एक जल्दोबल्दो प्रतीक नै थियो । ५१० फौज रहेको सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो ।

मस्क्भा सन् १९८० को दशकको सुरुमा बनेको हो । किएभले नेप्च्युन क्षेप्यास्त्र प्रहारले मस्क्भा क्षतिग्रस्त भएको बताएको थियो । तर रुसले भने कुनै हमला भएको बताएको छैन । बरु आगलागी र विस्फोटनले मस्क्भामा क्षति पुगेको उसले बताएको छ । पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको रुसले जनएको छ ।

गएको फेब्रुअरी महिनामा एक युक्रेनी टापुको रक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न माग गरेका कारण पनि सो पानीजहाज कुख्यात बनेको थियो ।

एक सय ८६ मिटर लामो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो । सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक बनेको उक्त क्रुजरले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो ।

प्रतिक्रिया