पूर्वएमालेका ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि नेकपा फुटाउने षड्यन्त्र भयो: प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, १ बैशाख

काठमाडौं, १ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको दाबी गरेका छन् ।

आज माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा रहेका पूर्वएमालेका ८० प्रतिशत नेताहरूले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएको बताएका हुन् ।

उनले भने, ‘जति बेला एमालेभित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थाल्यो, माओवादी जनयुद्धकै कारण नेपालमा उत्पीडित, जाति, वर्ग, क्षेत्र, समुदायले जागरण ल्याएको हो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको हो भन्ने कुरामा सहमत भएको देखियो र अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रीय समितिको दोस्रो बैठकमा सबै पूर्वएमालेका अत्यधिक ठूलो सङ्ख्याले अबको नेता अध्यक्ष प्रचण्ड हो भन्ने ठाउँमा पुग्यो र त्यसपछि षड्यन्त्र सुरु भयो ।’

आजकाल एमालेका केही नेताहरूले अझै केही समय रोकेको भए त प्रचण्डले सम्पूर्ण पार्टी खाइसकेको थियो नि भन्ने गरेको उनले बताए । अध्यक्ष प्रचण्डले अझै पनि नेकपा एमालेमा रहेका धेरैजसो नेताहरू समाजवादी क्रान्तिका लागि इमानदार कम्युनिस्ट रहेको र उनीहरूको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए । उनले नेकपा एमालेको नेतृत्वले पार्टीका नेताहरूलाई प्रतिक्रान्तिकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाए ।

अध्यक्ष दाहालले देशभित्र र बाहिर प्रतिगमनकारी तत्त्वले प्रतिक्रियावादीहरूले माओवादीलाई क्षतविक्षत पार्ने, माओवादीका मुद्दालाई सिध्याउने, यसलाई कमजोर पार्ने र पूरै माओवादी आन्दोलनले ल्याएका उपलब्धि र परिवर्तनलाई नै उल्ट्याउने षड्यन्त्र भइरहेको बताए ।

माओवादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओवादी एकत्रित भएर लड्नुपर्ने बेला आएको बताउँदै उनले भने, देश र जनताका निम्ति समावेशी लोकतन्त्रको, समानुपातिक प्रतिनिधित्व प्रणालीको सङ्घीयता, लोकतन्त्र, गणतन्त्रको धर्मनिरपेक्षता जस्ता कुराहरू माओवादी आन्दोलनले स्थापित गरेका मुद्दा हुन् । अरू कुनै पार्टी र विचारबाट यो भएको होइन ।’

उनले अझ पनि माओवादी आन्दोलन र माओवादी जनयुद्धले स्थापित गरेका एजेन्डाहरूलाई, मूल्य–मान्यताहरूलाई प्रहार गर्ने, क्षतविक्षत पार्ने षड्यन्त्र रोकिएको छैन बताए । अध्यक्ष दाहालले सबै माओवादीहरू एकताबद्ध भएर नै संविधानको रक्षा र प्रतिक्रियावादीहरूलाई परास्त गर्न सकिने बताए ।

प्रतिक्रिया