मारिउपोलमा १ हजार बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दाबी
अखबार टुडे
प्रकाशित:
२०७८, ३० चैत्र

काठमाडौं, ३० चैत (एजेन्सी) । रुसले १ हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका दाबी गरेका छन् ।

रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । मारिउपोल सहरमा १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले जनाएको छ ।

छत्तीसौँ मरीन ब्रिगेड नाम गरेको सैन्य समूहले आत्मसमर्पण गरेको बताइएको छ । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले ती सैनिकहरू घेराबन्दी तोडेर आजोभ बटालियनसँग गएर मिसिएको र त्यसको अर्थ मारिऊपोल अझै पराजित नभएको दाबी गरेका छन् । युक्रेनका रक्षा मन्त्रालयका प्रवक्ता ओलेक्सान्डर मोटुज्यान्यीकले यस विषयमा अहिलेसम्म कुनै जानकारी नभएको बताएका छन् ।

उक्त दक्षिणी बन्दरगाह हप्तौँदेखि रुसी आक्रमणको निसानामा रहेको र त्यो रुसीहरूको कब्जामा पुग्नै लागेको बताइएको थियो । रणनीतिम रूपमा महत्त्वपूर्ण मानिएको उक्त बन्दरगाह सहरमा अझै १ लाख सर्वसाधारण मानिस रहेका खबरहरुमा उल्लेख छ ।

पुटिनले युक्रेनमा जातीय नरसंहार गराएको बाइडेनको आरोप

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको आरोप लगाएका छन् । रुसी सैनिकले गैरसैनिकको हत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बाइडेनले बताए । पुटिनको आदेशमा युक्रेनमा भइरहेको अत्याचार ‘नरसंहार’ रहेको बाइडेनको भनाइ छ ।

युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवम् अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका छन् । अमेरिकाले यसअघिसम्म रुसले युक्रेनमा युद्ध अपराध गरेको बताउँदै आएको थियो ।

प्रतिक्रिया