नेता र काला व्यापारीले नोट थन्क्याएपछि देशमा आर्थिक संकट आयो : लिङ्देन
अखबार टुडे
प्रकाशित:
२०७८, ३० चैत्र

काठमाडौं, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलवार वीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याएको आरोप लगाए । नेताहरुले कमिशन, भ्रष्टाचारबाट र काला व्यापारीहरुले कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे ।

‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामान्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो ? कहाँ गयो त नोट ? नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नेताहरुको घरमा ।’ अध्यक्ष लिङ्देनले भने, भ्रष्टाचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनुपर्यो । कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुपर्यो । नभएपछि बोरामा राख्नुपर्यो । बाकसमा राख्नुपर्यो । आज नेताहरुको र काला व्यापारीहरूको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ ।’

उनले एकचोटी राप्रपालाई सहयोग गर्न आग्रह गर्दै भने, ‘यिनीहरूको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौ हामी । एकचोटी सहयोग गर्नुस् । हाम्रो मनमा छ । गर्न सकिन्छ भन्ने छ ’। उनले काँग्रेस, एमाले, माओवादी र मधेसवादी दललाई मत दिएर देश बन्नु भनेको दूधका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नुजस्तै भएको टिप्पणी गरे । उनले देशका ठुला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पुर्याएको आरोप पनि लगाए ।

प्रतिक्रिया