‘विप्लव’लाई चुनावमा सहभागी गराउनेबारे छलफल
अखबार टुडे
प्रकाशित:
२०७८, ३० चैत्र

काडमाडौं, ३० चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई चुनावमा कसरी सहभागी गराउने भनेर छलफल गरेको छ ।
आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाउन विप्लवले अघि सारेका मागबारे औपचारिक सरकार छलफल गरेको हो ।

बुधबारको मन्त्रिपरिषद् बैठकमा विप्लवको मागबारे छलफल भए पनि कुनै निर्णय हुन सकेन । स्रोतका अनुसार छलफलमा यदि विप्लव निर्वाचनमा सहभागी भए उनको पार्टीलाई चुनाव चिह्न दिन सकिनेसम्म पुगेको तर अरू मागमा पुन छलफल आवश्यक रहेको बताइएको छ ।

‘चुनाव चिन्ह, मतदाता नामावली, उम्मेदवार लगायतका विषयहरू छन् ती विषयमा सरकारले निर्णय गरोस् भन्ने सो पार्टीको भनाइ रहेको गृहमन्त्री बालकृष्ण खाँणले ब्रिफिङ गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले विप्लवलाई देखाएर वैशाख ३० को स्थानीय निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताउँदै आएको छ । यसअघि निर्वाचनमा सहभागी हुने दलहरूलाई निर्वाचन आयोगले दल दर्ता गर्न आव्हान गरेको समयसीमा सकिइसकेको छ ।
आयोगको समयसीमामा विप्लवको पार्टी दर्ता भएको छैन । आयोगमा दर्ता भएका दलहरूका आधारमा आयोगले निर्वाचनको तयारीलाई तीव्र पारीसकेको छ ।

प्रतिक्रिया