माओवादीको चुनावी प्रचार सामग्रीमा कुलमानको तस्बिर
अखबार टुडे
प्रकाशित:
२०७८, ३० चैत्र

काठमाडौं, ३० चैत । नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी प्रचार पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेसबुकमार्फत गरेको सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ ।

‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ लेखेर अध्यक्ष प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ । उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ । माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो ।

पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारले घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । घिसिङको पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा आलोचना समेत हुन थालेको छ ।

प्रतिक्रिया