काठमाडौंको खाली जग्गा भूमाफियाहरुले जथाभाबी हडप्दै गएका छन् : प्रधानमन्त्री देउवा
अखबार टुडे
प्रकाशित:
२०७८, २९ चैत्र

काठमाडौं, २९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन् ।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘भूमाफियाहरुले जथाभाबी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पनि आफ्नो नाममा गरेका छन् । यसमा पनि ध्यान दिनुपर्नेछ । नत्र भोलि काठमाण्डौका कुनै ठाउँ बाँकी हुने छैनन् ।’

प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिले काठमाण्डौमा फोहर नै फोहर छ । व्यवस्थापन भएको छैन । फोहर थुप्रिएको छ । फोहरबाट ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ । मैले आफैँले देखेर आएको छु धरानमा । फोहरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ । विदेशी राजदूतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन् ।’

प्रधानमन्त्री देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको बताए ।

उनले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न केही ठूला नगरहरुमा आगामी आर्थिक वर्षदेखि पाइलट प्रोजेक्ट सुरु गरिने बताए ।

तराई मधेस केन्द्रित सघन सहरी विकास कार्यक्रममार्फत जनसाङ्ख्यिक सन्तुलन कायम गर्न आबश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘पहाडी जिल्लाबाट तराई मधेसमा हुने बसाइँसराइलाई निरुत्साहित गर्न हिमाली तथा पहाडी नगरपालिकाहरुमा विस्तार गरिनेछ ।’

सहरी विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्दै विकास निर्माणमा दोहोरोपन हटाइने प्रधानमन्त्री देउवाले बताए । प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहीतालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया