श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, २९ चैत्र

काठमाडौं, २९ चैत (एजेन्सी) । श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ । श्रीलंकाको अर्थ मन्त्रालयले अन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको हो ।

अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न सरकारले आपतकालीन उपाय अपनाइरहेको बताएको छ ।

श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले जनाएका छन् । सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाहसमेत गर्न नसक्दा राजधानी कोलम्बोसहितका सडकमा आम नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् । श्रीलंकामा यतिबेला दैनिक उपभोग्य वस्तु समेत प्रवाह हुन सकिरहेको छैन । नागरिकहरू दैनिक रुपमा सडकमा उत्रिएर सरकारको विरोध गरिरहेका छन् ।

विदेशी ऋण नतिर्ने आशयसहित अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई लिएर अहिले टिकाटिप्पणी हुन थालेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएएमएफ)ले अनुदान घोषणा गर्नुअघि नै श्रीलंकाले यसरी ऋण नतिर्ने जनाएको हो ।

यसैबीच श्रीलंकाले चीनसँग पनि थप ऋण सहायता माग गरेको छ । मंगलबार भने विज्ञप्ति जारी गर्दै विदेशी ऋण तिर्न नसक्ने जनाएको हो । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताइएको छ ।

प्रतिक्रिया