चुनाव केन्द्रित प्रचण्डको ६ बुँदे सर्कुलर: आफूखुसी गठबन्धन तोड्न रोक, अरु के छ ?
अखबार टुडे
प्रकाशित:
२०७८, २९ चैत्र

काठमाडौं, २९ चैत । स्थानीय चुनावलाई केन्द«ीत गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ६ बुँदे विशेष सर्कुलर जारी गरेका छन् ।

केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सोमबार सर्कुलर पठाएका हुन् ।

सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ । सत्तागठबन्धन दलबीच तालमेल गर्न र केन्द्रको स्वीकृति विना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ । बरु तालमेल हुन नसक्ने अवस्थामा केन्द्रको स्वीकृति लिइ आवश्यक निर्णय गर्ने सर्कुलरमा भनिएको छ ।

महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम पठाउनुपर्ने छ । सर्कुलर अनुसार प्रदेश समितिहरुले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने छ ।

यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिहरुले गर्नुपर्ने छ भने त्यस्तो सिफारिस सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने छ । त्यसपछि निर्णयलाई केन्द्रीय कार्यालयबाट अनुमोदन गराउनुपर्नेछ ।

यस्तै वडा अध्यक्ष र सदस्यहरुको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्ने छ ।

यसैगरी माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको छ । माओवादीले हरेक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमा भनेको छ ।

कम्तिमा एउटा वडा अध्यक्षमा महिलाको उम्मेदवारी दिन विशेष जोड गर्ने पनि माओवादीले निर्णय गरेको पनि जनाइएको छ । विजयको सम्भावना भएका पालिका मध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिका अन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड दिन प्रचण्डको सर्कुलरमा भएको छ ।

प्रतिक्रिया