फिनल्यान्ड र स्वीडेन नेटोको सदस्यता लिने तयारीपछि युरोपमा स्थायित्व नहुने रुसको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, २९ चैत्र

काठमाडौं, २९ चैत (एजेन्सी) । असंलग्न नीति अँगाल्दै आएका फिनल्यान्ड र स्वीडेनले सुरक्षाका लागि उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्यता लिने तयारी गरेका छन् ।

स्वीडेनकी प्रधानमन्त्री मागडालेना एन्डरसनको दल सोसल डेमोक्र्याटिक पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रूसले युक्रेनमाथि आक्रमण गरेपछि स्वीडेनको सुरक्षा अवस्था अवस्था आधारभूत रूप परिवर्तन भएको छ,’ ।

पार्टीका महासचिव तोबियास बाउडिनले केही महिनामै सुरक्षा पुनरावलोकन सकिने बताएका छन् । आउने सेप्टेम्बरमा हुने संसदीय चुनावमा यो विषय प्रमुख मुद्दा बन्ने अनुमान गरिएको छ । प्रधानमन्त्री एन्डरसनले यसअघि नै नेटोको सदस्य लिने कुरालाई नकार्न नसकिने बताएकी थिइन् ।

यस्तै, रूससँग १ हजार ३४० किलोमिटर सीमा जोडिएको फिनल्यान्डमा पनि नेटो सदस्यताका लागि आवेदन दिने तयारी चलिरहेको छ । आगामी जुनमा म्याड्रिडमा हुने नेटोको सम्मेलनसम्म फिनल्यान्डले आवेदन दिन सक्ने बताइएको छ । फिनल्यान्ड सरकारले सुरक्षा पुनरावलोकन गर्न बनाएको आयोगले अर्को साता आफ्नो प्रतिवेदन दिँदैछ । उक्त प्रतिवेदनले सांसदहरूलाई नेटोको सदस्यता लिने÷नलिने विषयमा मत दिन सजिलो हुनेछ ।

समाचार संस्था द गार्डियनका अनुसार यी दुई स्क्यान्डिभियन मुलुकमा पछिल्लो समय सैन्य गठबन्धन नेटोको सदस्यता लिनुपर्नेमा जनमत पनि बलियो बन्दै आएको छ । दुबै देशले आवेदन दिए अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायत मुलुकले पनि उनीहरूलाई सदस्यता दिलाउन सघाउने बताएका छन् ।

रूसले भने फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ । रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नहुने चेतावनी दिएको जनाइएको छ ।

रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको आरोप समेत लगाएका छन् । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ ।

तर रुसले युक्रेनमा गरेको आक्रमणपछि आउँदो जुनको सुरुमा फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यबारे छलफल हुने सम्भावना छ । सन् १९४९ मा सोभियत विस्तार खतराको सामना गर्न नेटोको गठन भएको थियो ।

प्रतिक्रिया