विवेकशील साझाबाट ललितपुर महानगरको मेयरमा उज्वलकृष्ण श्रेष्ठको उम्मेदवारी
अखबार टुडे
प्रकाशित:
२०७८, २९ चैत्र

काठमाडौं, २९ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्वलकृष्ण श्रेष्ठलाई अगाडि सार्ने भएको छ । बुधबार एक कार्यक्रमबीच श्रेष्ठलाई ललितपुरको मेयर उम्मेदवारमा अगाडि सार्ने तयारी गरेको छ ।

बागमती प्रदेश संयोजक तथा कार्यसम्पादन समिति सदस्यसमेत रहेका श्रेष्ठ २०७४ को संघीय प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. ३ बाट चुनावी मैदानमा उत्रिएका थिए । त्यसबेला १७ दल चुनावी मैदान थिए । जसमा विवेकशील साझा पार्टी तेस्रो बनेको थियो ।
व्यवसायी एवं समाजसेवी समेत रहेका श्रेष्ठ आफ्नो क्षेत्रमा लोकप्रिय छन् । इमानदार, सक्षम र परिपक्वकताका कारण श्रेष्ठलाई मेयरमा उठाउने निर्णय गरिएको पार्टीले जनाएको छ ।

तर, यस विवेकशीललाई निर्वाचनमा निकै मिहिनेत गर्नुपर्ने छ जबकि ललितपुर महानगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीले गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

पाँच दलीय सत्तागठबन्धन दलले यसअघि नै स्थानीय तह निर्वाचनमा देशभर तालमेल गरेर अगाडि बढ्ने निर्णय गरिसकेको छ । तर, अहिलेसम्म गठबन्धनले ललितपुरमा साझा उम्मेदवार घोषणा गरेको छैन ।

मेयरको उम्मेदवार बन्ने पक्का भएपछि श्रेष्ठले भने ‘ललितपुर मेयरका लागि पार्टीले मलाई नै अगाडि सारेको छ । औपचारिक घोषणा गर्नुमात्र बाँकी हो ।’ बुधबार एक कार्यक्रमबीच आफ्नो उम्मेदवारी घोषणा हुने बताउँदै उनले आफूसँग ललितपुर महानगरका विकास कसरी गर्नेबारे भिजन भएको बताए ।

विवेकशील साझा पार्टीले भ्रष्टाचार नियन्त्रण, सुशासन र सुलभ सेवाप्रवाह, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वद्र्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाई र व्यवस्थित पार्किङ, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायतका चुनावी नारा अगाडि सारेको छ ।

यसअघि विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाका लागि मेयर र उपमेयर पदको उम्मेदवार टुंग्याइसकेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेकी समीक्षा बास्कोटालाई मेयरमा र केन्द्रीय सदस्य कीर्ति तुलाधरलाई उपमेयरमा उठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया