पाकिस्तानको २३औँ प्रधानमन्त्रीमा शेहबाज निर्वाचित, खान पार्टीका १५५ सांसदद्वारा राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७८, २८ चैत्र

इस्लामावाद, २८ चैत (एजेन्सी) । पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफ निर्वाचित भएका छन् । पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लीम लिग नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिएको हो ।

विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएकाले नयाँ प्रधानमन्त्री चयनका लागि सोमबार मतदान भएको थियो ।

पाकिस्तानको राष्ट्रिय सभामा रहेका खानको पार्टीका सांसदहरू मतदानमा सहभागी नभएपछि शरिफलाई निर्वाचित हुन सजिलो भएको हो । संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेको कार्यवाहक सभामुख सर्दार अयाज सादिकले जानकारी दिए ।

विपक्षी दलको नेतृत्व गर्दै आएका ७० बर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ छन् । लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए । उनले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाएका छन् ।

विश्व चर्चित क्रिकेट खेलाडी खानको नेतृत्वमा सरकार बन्द संसार भरी नै सकारात्मक सन्देश गएपनि कार्यकाल भने ठोस उपलब्धि विना सकिएको छ । सुरुमा निकै लोकप्रिय निर्णय गरेका खानले दलीय व्यवस्थापन र प्रभावकारी राज्य सञ्चालन गर्न नसक्दा सांसदको कार्यकाल बाँकी रहँदा नै प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिनु परेको छ ।

यसैबीच, पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन ।

नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका थिए । जनताको भावना विपरित विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अव संसद्मा बस्न नसक्ने बताएका हुन् ।

विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उनको भनाई छ । उनले अव जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गरेका छन् ।

प्रतिक्रिया