‘बिदाका दिन सरकारी गाडी प्रयोग नगर्ने प्रस्ताव, गभर्नरमाथिको छानबिन राष्ट्र बैंक ऐनअनुसार नै’
अखबार टुडे
प्रकाशित:
२०७८, २८ चैत्र

काठमाडौं, २८ चैत । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा सङ्कट आएको भनेर अनावश्यक हल्ला गरिएको बताएका छन् ।
उनले भने, ‘अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ । अनावश्यक हल्ला नगरौँ । त्यसले कोही कसैलाई पनि फाइदा गर्दैन ।’

कोरोना कहर तथा रुस र युक्रेनको सङ्घर्षका बाबजूत पनि अर्थतन्त्र सकारात्मक दिशामा गएको उल्लेख गर्दै उनले जसरी गलत प्रचार गरिएको छ, त्यसले कोही कसैलाई पनि फाइदा नगर्ने बताए ।

उद्योगधन्दा ठिक ढङ्गले सञ्चालनमा रहेको, विप्रेषण आप्रवाह पनि सकारात्मक रूपमा वृद्धि भएको उहाँले तथ्याङ्क पेश गरे । गत फागुन मसान्तसम्म मात्रै रु ९१ अर्ब बराबरको विप्रेषण आयात भएको छ ।

अर्थमन्त्रीले विप्रेषण आप्रवाह नियमित रूपमा बृद्धि हुने क्रममा रहेको तथा राजश्व पनि लक्षित सीमाभन्दा बढी उठीरहेको तथ्य पेश गर्दै अनावश्यक प्रचार र हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरे ।

विप्रेषण आप्रवाहको बृद्धिका लागि वैदेशिक रोजगारीमा रहेकाले लगानी गर्न सक्ने गरी सञ्चित कोष बनाउने, प्रारम्भिक सार्वजनिक निस्काशन (आइपीओ) तथा एफपीओमा पनि कोटा छुट्याउने र विप्रेषण कम्पनीलाई बालेट प्रयोग गर्न दिनेजस्ता प्रस्ताव पनि अगाडि सारिएको बताए ।

उनले अर्थतन्त्रको कारेमा तथ्याङ्कले बोल्ने भएकाले अनुमानका भरमा गरिने प्रचारको अर्थ नरहने स्पष्ट पारे । उनले नियमित रूपमा ऋण पनि व्यापक रूपमा विस्तार हुनु पनि सकारात्मक नै विषय भएको बताए ।

अर्थमन्त्रीले भने, ‘राजनीतिकरण गर्नका लागि अर्थतन्त्र संकटमा परेको भनेर ठूलो ठूलो स्वरमा जे भनिराखिएको छ त्यसले कोही कसैलाई राम्रो गर्दैन ।’

बिदाका दिन सरकारी सवारी साधन प्रयोग नगर्ने
सरकार र सरकारी निकायमा प्रयोग हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव समेत मन्त्रिपरिषद्मा पुगेको उनले जानकारी दिए । उनले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग नगर्ने गरी प्रस्ताव तयार भएको उल्लेख गरे ।

महङ्गा एवम् विलासी सवारी साधनको आयात रोक्न पनि प्रस्ताव गरिएको उनको भनाइ छ । उनले सर्वसाधारणलाई पनि इन्धनको प्रयोगमा किफायती गर्न आग्रह गरिएको र त्यसमा प्रोत्साहित गरिने स्पष्ट पारे ।

मुख्यसचिवको नेतृत्वमा विभिन्न विषयमा अध्ययन भइरहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी रोक्न र वैदेशिक लगानी भित्र्याउनका लागि हेजिङलगायत दीर्घकालीन निर्णय पनि गरिने स्पष्ट पारे । अनावश्यक आयात निरुत्साहनका लागि आवश्यकताका आधारमा कदम चालिएको उनको भनाइ छ ।

कानूनसम्मत गभर्नरमाथि छानबिन
अर्थमन्त्री जनार्दन शर्माले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताए । उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको बताए ।

छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गरे । गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ ।

छानबिन समिति गठन भएकाले यस विषयमा थप टिप्पणी गर्नु आवश्यक नभएको उनको भनाइ छ । निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीको भनाइ छ । आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको बरु नेतृत्व प्रदान गरेको उनको भनाइ छ ।

प्रतिक्रिया