टी–२० विश्वकप २०२४ मा अमेरिका सिधै छनोट हुँदा नेपालको सम्भावना कति ?
अखबार टुडे
प्रकाशित:
२०७८, २८ चैत्र

काठमाडौं, २८ चैत । अमेरिका र वेस्टइन्डिजले टि–२० विश्वकप २०२४ को संयुक्त आयोजना गर्दैछन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी–२० विश्वकपमा २० टिमले सभागिता जनाउने भएको छ ।

आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको हो ।

आइसिसीको निर्णयअनुसार २० टोली सहभागी हुने विश्वकपमा १२ टोलीले छनोट नखेली सिधैं स्थान बनाउने छन् भने बाँकी ८ टिमले क्षेत्रीय छनोट चरणमा पार गर्नुपर्ने हुन्छ ।

आगमी (२०२२ को विश्वकप) अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि–२० विश्वकपबाट शीर्ष ८ टोली सिधै छनोट हुने छन् भने वरीयता अनुसार त्यसपछिका शीर्ष २ टोली विश्वकपमा हुनेछन् । अमेरिका र वेस्टइन्डिज आयोजक हुँदा टि–२० विश्वकप २०२४ मा स्वतः छनोट भएका छन् । हाल आइसिसी वरीयतामा २८औं स्थानमा रहेको अमेरिका भने पहिलो पटक टी–२० विश्वकप खेल्ने भएका छन् ।

वेस्ट इन्डिजले आगामी नोभेम्बरमा सकिने टी–२० विश्वकपको शीर्ष ८ मा स्थान बनाए आइसिसी विश्व वरीयताको आधारमा ३ टिम टी–२० विश्वकप २०२४ मा पुग्नेछन् । वेस्ट इन्डिज शीर्ष आठमा नपुगे विश्व वरीयताबाट २ टिममात्र छनोट हुनेछन् । १४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई छनोटको आधार मानिनेछ । यो मिति अस्ट्रेलियामा टी–२० विश्वकप सकिएको भोलिपल्ट हो ।

हाल टि–२० विश्व वरीयतामा नेपाल १२औं स्थानमा छ । जसका कारण नेपाल विश्वकपमा सिधा छनोट हुने सम्भावना देखिन्छ । हाल वरीयताका नेपालभन्दा अघि रहेका ११ टिम मध्ये आठ टिम अस्ट्रेलियामा हुने विश्वकपमा शीर्ष आठमा परे नेपाल सिधा छनोट हुनेदेखिन्छ । तर त्यसको लागि नेपालले अहिलेको १२औं वरीयतालाई कामय राख्नु पर्नेहुन्छ । वरीयताको आधारमा टी–२० विश्वकपमा छनोट हुन नसके नेपालले क्षेत्रीय छनोट खेल्नु पर्नेछ ।

अहिलेको वरीयतामा नेपालभन्दा पछि रहेका टिम शीर्ष आठमा परेको अवस्थामा भने नेपालको सम्भावना कम देखिन्छ । हालको वरीयतामा नेपालभन्दा तल युएई, स्कटल्यान्ड, आयरल्यान्ड जस्ता बलिया टिम छन् ।

क्षेत्रीय छनोटबाट ८ टिमले विश्वकपमा स्थान बनाउनेछन् । जसमा एसिया, अफ्रिका र युरोप छनोटबाट दुई–दुई टिम विश्वकपमा पुग्नेछन् । अमेरिका र इस्ट एसिया प्यासेफिकबाट एक–एक टिम विश्वकपमा पुग्नेछ । एसियाको क्षेत्रीय छनोट खेलेमा नेपालले शीर्ष दुईमा पर्नुपर्ने हुन्छ । आइसिसीले २०२४ को विश्वकपमा विश्व छनोट प्रतियोगिता भने नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया