युद्धका कारण युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने, खार्किभमा रुसी आक्रमण तीव्र
अखबार टुडे
प्रकाशित:
२०७८, २८ चैत्र

काठमाडौं, २८ चैत । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले सङ्कुचित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले युक्रेनमा शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसहरूलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको बताएको छ । विश्व बैंकको प्रक्षेपणले युद्धका कारण युक्रेनको अर्थ व्यवस्था कोरोना महामारी कारण पूर्वी युरोप र मध्य एसियामा परेको असर भन्दा पनि बढी हुने छ ।

बीबीसीका अनुसार युक्रेनको अधिकांश काम गर्ने समूहका मानिस या त लड्न या त भाग्न बाध्य भएका छन् । व्यापार बन्द छन् । सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छन् । वर्षौँको प्रगति शून्यमा झरेका छन् । अहिले युक्रेनबाट विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात ठप्प भएको छ । जस्ले गर्दा विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुने अनुमान गरिएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धका कारण रुसको अर्थतन्त्र पनि ११ प्रतिशतले खुम्चने विश्व बैंकले बताएको छ । साथै बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउने बैंकले प्रक्षेपण गरेको छ ।

यसैबीच युक्रेनी सेनाका अनुसार उत्तर पूर्वी खार्किभ क्षेत्रमा भएको रुसी गोलाबारीका कारण बालबालिकासहित १० जनाको ज्यान गएको छ । रुसले उक्त क्षेत्रमा आक्रमण तीव्र पारिरहेको छ । खार्किभस्थित सैन्य प्रशासनका प्रमुखले सबभन्दा चर्को भिडन्त इजियम नगर वरपर भइहेको छ ।

भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा रुसी सैन्य गाडीहरू त्यहाँ तैनाथ गरिएका देखिन्छन् । अमेरिकी संस्था इन्स्टिच्युट अफ वारका अनुसार रुसी फौजले दक्षिणी मारिउपोल शहरमा सफलता पाउँदै गरेको छ ।

मारिउपोलमा रुसी फौजले नगरलाई दुई फ्याक पारेर युक्रेनी रक्षात्मक फौज विभाजित बनाइदिएको छ । उसका अनुसार अब त्यहाँ युक्रेनी लडाकूहरू बन्दरगाहक्षेत्रमा एकातिर अनि पूर्वको स्टिल कारखाना क्षेत्रमा अर्कोतिर अलगथलग पारिएका छन् ।

प्रतिक्रिया