काठमाडौं, २८ चैत । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाका लागि मेयर र उपमेयर पदको उम्मेदवार टुंग्याएको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेकी समीक्षा बास्कोटालाई मेयरमा र केन्द्रीय सदस्य कीर्ति तुलाधरलाई उपमेयरमा उठाउने निर्णय गरेको हो ।
बैठकले ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँः राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय भएको अध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिए ।
३८ वर्षकी बास्कोटाले अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छन् । उनी ०७४ मा काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट प्रदेश सभा उम्मेदवार थिइन् । उनले त्यसबेला तेस्रो स्थानको मत ल्याएकी थिइन् ।
तुलाधर जेसिजको पूर्वराष्ट्रिय अध्यक्ष हुन् । ६२ वर्षकी उनले शिक्षामा उनले स्नातकोत्तर गरेकी छन् । दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने सो पार्टीले जनाएको छ ।
घोषणापत्र मूलत ७ वटा बुँदाहरूमा केन्द्रीत हुने बताइएको छ । प्रवक्ता शरदराज पाठकका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाई र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा हुने छ ।
चुनावी अभियानको नेतृत्व भने केन्द्रीय सदस्य अनुपा श्रेष्ठले गर्ने विवेकशील साझाले बताएको छ ।