भारतको बिहारमा ५०० टनको लामो फलामको पुल चोरी
अखबार टुडे
प्रकाशित:
२०७८, २७ चैत्र

काठमाडौं, २७ चैत । भारतको बिहारस्थीत सासाराम जिल्लामा एउटा फलामको पुल चोरी भएको छ । बीबीसीका अनुसार सन् १९७२ मा निर्माण भएको ६० फुट लामो पुल चोरी भएको हो ।

समाचार संस्था पीटीआईले प्रहरीलाई उद्धृत गर्दै आफूलाई सरकारी अधिकारी बताउने केही व्यक्तिहरूले चोरी गरेको जनाएको छ । उक्त पुलको वजन ५०० टन रहेको बताइएको छ ।

ती व्याक्तिहरुले आफूहरू सिँचाई विभागबाट आएको र पुललाई लिएर जान लागेको बताएका कारण गाउँका मानिसहरूले यसबारे सूचना नदिएको जनाइएको छ ।

सासारामका प्रहरी उपरीक्षक आशीष भारतीका अनुसार उक्त पुल सिँचाई विभागको थियो र त्यो उपयोगमा आएको थिएन । भारतीले उजुरी दर्ता गराएर अनुसन्धान थालिएको बताए । साथै जिल्लामा त्यस्ता सामानहरूको किनबेच गर्ने विक्रेताहरूलाई यसबारेमा सचेत गराइएको बताए ।

भारतीय अनलाइन द प्रिन्टका अनुसार बिहारको अमियावार गाउँमा पर्ने अर्राह नहरमाथि बनेको उक्त पुल खतरनाक घोषणा गरिएपछि प्रयोगमा आउन छाडेको थियो । पुल चोरिएपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले त्यसलाई ‘अविश्वसनीय डकैती’ को संज्ञा दिएका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई ‘बिहार पुल डकैती’ भन्दै नेटफ्लिक्सका लागि नयाँ सिरिज बनाउन रोमाञ्चक शीर्षक हुने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया