अचानक किभको सडकमा देखिए बेलायती प्रधानमन्त्री जोनसन
अखबार टुडे
प्रकाशित:
२०७८, २७ चैत्र

काठमाडौं, २७ चैत । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । उनी शनिबार अचानक त्यहाँ पुगेको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमाथि गत फेबु्रअरी २४ देखि आक्रमण थालेको थियो । रूसी आक्रमण अहिले पूर्वी युक्रेन केन्द्रीत रहेको समाचारहरुमा बताइएको छ । बेलायतले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा युक्रेनेको समर्थन जनाउँदै आएको छ ।

बेलायती प्रधानमन्त्री जोनसन शनिबार पूर्वघोषणाबिनै युक्रेनको राजधानी किभ पुगेर युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेका हुन् । बीबीसीका अनुसार उनले रूसी आक्रमणविरूद्ध जेलेन्स्कीको नेतृत्व र युक्रेनी जनताले देखाएको बहादुरीको प्रशंसा गर्दै बेलायतले थप सैन्य सहायता दिने घोषणा गरेका छन् ।

बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति जेलेन्स्कीले किभका सडकमा घुमाएको थिए । दायाँबायाँ हतियारधारी सैनिकका बीचमा जोन्सन र जेलेन्स्की किभका सडकमा हिँडेको भिडियो समेत सार्वजनिक भएको छ । सोक्रममा जोन्सनले केही सर्वसाधारणसँग पनि कुरा गरेका थिए ।
बेलायती प्रधानमन्त्री औपचारिक पोशाकमा थिए भने जेलेन्स्की ट्रयाकसुटमा देखिन्छन् ।

रूसी आक्रमणपछि जेलेन्स्की सार्वजनिक ठाउँमा औपचारिक पोशाकबिनै उपस्थित हँुदै आएका छन् । यसअधिका भिडियोमा उनी टिसर्टमात्र लगाएको देखिएका छन् ।

प्रतिक्रिया