पाकिस्तानमा इमरान नेतृत्वको सरकार ढल्यो, आज नयाँ प्रधानमन्त्री चयन हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २७ चैत्र

काठमाडौं, २७ चैत । पाकिस्तानमा इमरान खान नेतृत्वको सरकार ढलेको छ । प्रधानमन्त्री इमरान खान संसद्मा विश्वासको मत प्राप्त गर्न विफल भएसँगै उनको सत्ता ढलेको हो ।

पाकिस्तानको सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतबार मध्यरातपछि मतदान गरिएको थियो । खानले आफूले विपक्षीहरूको सरकारलाई मान्यता नदिने बताउँदै प्रमाण नदेखाई आफूलाई पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षडयन्त्र भएको दाबी गरेका छन् ।

स्थानीय तथा अन्तर्राष्ट्रिय समाचारहरुमा जनाएअनुसार पाकिस्तानको संसद्ले सोमबार (आज) नयाँ प्रधानमन्त्री चयन गर्दैछ ।

अब बन्ने नयाँ प्रधानमन्त्रीले अर्को चुनावको मिति अर्थात् सन् २०२३ को अक्टोबरसम्म सत्ता सम्हाल्नेछन् । सत्तारुढ दलका सदस्य वा सभामुख नरहेको अवस्थामा राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने जिम्मा पाएका आयाज सादिकले आइतबार ११ बजेभित्र उम्मेदवारी दर्ता गरिनुपर्ने बताएका थिए ।

खान अविश्वासको प्रस्तावबाट सत्ताबाट हटाइएका पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन् । यही गएको बिहीबार सर्वोच्च अदालतले ६९ वर्षका खानले अविश्वासको प्रस्तावलाई अवरुद्ध तुल्याउँदै असंवैधानिक ढंगले संसद् विघटन गरेको ठहर गरेको थियो । खानको सो कदमले कैयौँ विपक्षी दलका सदस्यहरूलाई आक्रोशित तुल्याएको थियो भने कतिपयले प्रधानमन्त्रीले राजद्रोह गरेको आरोप समेत लगाएका थिए ।

मतदान सुरु हुनुभन्दा केही मिनेटअघि प्रधानमन्त्री खानका समर्थक रहेका संसद्को तल्लो सदनका सभामुखले पदबाट राजीनामा दिएका थिए । खानको दल पीटीआईका सदस्यहरूले प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय षडयन्त्रको सिकार बनाइएको भन्दै संसद् भवन छाडेको बताइएको छ । ३४२ सदस्यीय संसद्मा विपक्षी दलहरूले अविश्वासको प्रस्तावको पक्षमा १७४ मत जुटाएका थिए ।

प्रतिक्रिया