बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धरासायी बनेको छैन: मन्त्री झाँक्री
अखबार टुडे
प्रकाशित:
२०७८, २६ चैत्र

काठमाडौं, २६ चैत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बतााएका छन् ।

शनिबार आयोजना भएको विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभामा उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट पारेका हुन् ।

मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको त्यसो नगर्न आग्रह गरे । उनले भने, ‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धरासायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’

सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताए । खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्यवृद्धि र रसिया–युक्रेनबीचको युद्धका केही बाछिटा नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिने अवस्था आइनसकेको उनले धारणा राखे । अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने जोड दिए ।

प्रतिक्रिया