गभर्नरमाथि छानबिन गर्न माओवादीको इशारामा समिति गठन गरिएको ओलीको आरोप
अखबार टुडे
प्रकाशित:
२०७८, २६ चैत्र

काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइएको आरोप लगाएका छन् ।

शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वभाविक ढंगले हटाइएको आरोप लगाएका हुन् । उनले गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति गठन गरिएको आरोप लगाए ।

त्यस्तै ओलीले सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका घाइतेहरूलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायण दाहाललाई राष्ट्रिय सभा सदस्य बनाएको तर्क गरे । अहिले सत्तागठबन्धनको ध्यान देश बनाउने भन्दा पनि कमाइ गर्ने स्थल मात्र बनेको उहाका भनाई छ ।

अध्यक्ष ओलीले राजनीतिक दलहरूसँग छलफल नगरी, सत्तापक्षीय दलहरूसँग मात्रै परामर्श गरेर नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले आचारसंहिता ल्याएको बताए । आयोगले आचारसंहिता नमान्नेलाई जुनसुकै होस कारबाही गरिन्छ, भनेर थर्काएको समेत उनको भनाइ छ ।

उनले निष्पक्ष भएर काम गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण पनि गराए । कार्यक्रममा बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराइएको थियो ।

प्रतिक्रिया