काठमाडौं, २६ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचन रोकिन सक्ने संकेत गरेका छन् ।
शनिबार नेकपा एकीकृत समाजवादी दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भोलिका दिन जे भएपनि अहिले निर्वाचनका लागि जुट्नुपर्ने बताए ।
‘भोलि जे होला होला, अहिले हामी तयारी जुटौं । वैशाख ३० गतेको तयारीमा जुटौँ’ अध्यक्ष नेपालले भने, ‘मान्छेहरु के हुन्छ भन्छन्, म भन्छु जे हुन्छ हुन्छ, अहिले तयारीमा जुटौँ ।’
अध्यक्ष नेपालले २०७४ असोजमा निर्वाचित जनप्रतिनिधिको ५ वर्ष काम गर्न पाउने संवैधानिक अधिकार भएकाले यो चुनाव घोषणाले हनन् गरेको बताउँदै यसबारे अदालतबाट कुनै निर्णय आउन सक्ने बताए ।
‘असोजमा चुनाव भएका मान्छेको ५ वर्ष पुगेको छैन’ उनले भने, ‘त्यसको जवाफ कसले दिने ? उनीहरुको संवैधानिक अधिकारको हनन् भएको छ ।’
सर्वोच्च अदालतमा भंगाहाका मेयर सन्जिवकुमार सिंहले ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै दायर गरेको छन् । उक्त रिटको सुनुवाइको पेशी वैशाख २ गते तोकिएको छ ।