रुस-युक्रेन युद्ध : बुचाको आमहत्याबारे रुसले भन्यो- ‘हामी झुटा र असत्य समाचार भोगिरहेका छौँ’
अखबार टुडे
प्रकाशित:
२०७८, २५ चैत्र

काठमाडौं, २५ चैत । रुसले युक्रेन युद्धका क्रममा आफ्नो सेनातर्फ ठूलो क्षति भएको जनाएको छ । युक्रेनमाथि आक्रमण गरेको ४४औँ दिन पुग्दा युद्धमा ठूलो क्षति बेहोरेको रुसले स्वीकार गरेको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दीमित्री पेस्कोभले ब्रिटिश टेलिभिजन च्यानल स्काइ न्यूजलाई रुसी सेनाको क्षतिबारे ‘हाम्रा लागि ठूलो दुःखान्त हो’ भएको बताएका छन् । उनले मस्कोले उसको युद्धको लक्ष्य आउँदा दिनमा प्राप्त गर्नेछ भन्ने समेत आशा राखेको बीबीसीले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट बुधबार मात्र रुसलाई निष्कासन गरेपछि पेस्कोभको त्यस्तो प्रतिक्रिया आएको हो । संयुक्त राष्ट्र संघका १९३ देशमध्ये ९३ देशले रुसको विरुद्धमा मतदान गरेका थिए ।

उनीहरूले रुसले आफ्नो नियन्त्रणमा रहँदा बुचा शहरमा गरेको आम मानव अधिकार उल्लंघनको कडा आलोचना गरेका थिए । त्यसको प्रतिक्रियामा रुसले परिषद्बाट राजीनामा दिएको बीबीसीले जनाएको छ ।

परिषद्ले युक्रेनमा जारी मानव अधिकार तथा मानवीय संकटप्रति गहिरो चासो व्यक्त गरेको छ । र, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले बोरोदीयङ्कामा थप अत्याचार गरेको बताएका छन् ।

पेस्कोभले बुचामा भएको आम हत्यामा रुसी सेना जिम्मेवार रहेको आरोप अस्वीकार गर्दै स्काइ न्यूजलाई भने, ‘हामी झुटा र असत्य समाचार भोगिरहेका छौँ ।’ उनले कुनै आधारबिना उक्त शहरमा मारिएका भनिएका व्यक्तिका तस्बिरहरू नक्कली भएको दावी गरे । तर, रुसले त्यहाँ ठूलो संख्यामा आफ्ना सैनिक गुमाएको उनको भनाइ छ ।

२५ मार्चका दिन रुसको रक्षा मन्त्रालयले युद्धमा उसका १,३५१ जना सैनिक मारिएको बताएको थियो । तर, युक्रेनले भने १९ हजार रुसी सैनिक मारिएको दावी गर्दै आएको छ । पश्चिमा नेताहरू भने ७ हजारदेखि १५ हजार रुसी सेना मारिएको अनुमान गरेका छन् ।

प्रतिक्रिया