राष्ट्रसंघको मानवअधिकार परिषद्बाट रुस निलम्बित, राष्ट्रपति बाइडेन अत्यन्त खुशी
अखबार टुडे
प्रकाशित:
२०७८, २५ चैत्र

काठमाडौं, २५ चैत (एजेन्सी) । रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषद्बाट रुस निलम्बित भएको हो ।

रुसले युक्रेनमाथी आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिकार परिषद्मा बस्न रुसलाई दिन नहुने भन्दै रुसलाई निलम्बन गरिएको जनाइएको छ ।

महासभामा भएको मतदानमा रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो । त्यसैगरी ५८ देश मतदानमा सहभागी भएका थिएनन् ।

रुसलाई मानव अधिकार परिषद्बाट निलम्बित गरिएकोप्रति अमेरिकाका राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्ल्याउनु पर्नेमा जोड दिए ।

‘संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् रुसलाई रहन नदिएकोमा मलाई अत्यन्त खुशी लागेको छ, राष्ट्रसंघीय महासभामा रुसविरुद्ध मतदान गर्नेहरुलाई धन्यवाद छ,’ राष्ट्रपति बाइडेनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । परिषद्बबाट रुसलाई हटाउनु अन्तर्राष्ट्रिय रुपमा अर्थपूर्ण घटना भएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया