
काठमाडौं, २४ चैत । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागी जारी गरेको आचारसंहिताप्रति नेकपा एमालेले ६ बुँदे असहमति जनाएको छ ।
आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको हो ।
तर एमालेले संविधान र कानुनसँग बाझिएका बाहेकका आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएको छ । एमालेले उम्मेदवार मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था, सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्न लगाउने व्यवस्था, कुनै पनि तहको कार्यपालिका सदस्य, मन्त्री, प्रधानमन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारमा रोक लगाउने आचार संहिताको व्यवस्थामा असहमति जनाएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमार्फत मत माग्न नपाउने व्यवस्था कोकहिलेदेखि लागू हुने हो स्पष्ट पार्न एमालेले आग्रह गर्दै यदि यस्तो व्यवस्था तत्काल भएका अनुपयुक्त मात्र होइन, संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको विपरीतसमेत हुने जनाएको छ ।
एमालेले उम्मेदवारले आफ्नो कार्यालयबाहेक अन्यत्र झण्डा र चुनाव चिह्न प्रयोग गर्न नपाउने, अनलाइन र वेवपेजबाट जुलुस तथा सभाको प्रचार थर्न नपाउने व्यवस्थाको पनि आशय खुलाउन माग गरेको छ ।
एमालेले आयोगलाई बुझाएको पत्रमा निजी वा पार्टीका आधिकारिक वेबपेजको प्रयोगलाई बन्देज गर्ने उद्देश्यबाट यस्तो प्रावधान राखिएको हो भने त्यो अनुपयुक्त एवं निषेधात्मकमात्र होइन, संवैधानिक हकविपरीतसमेत हुने उल्लेख गरेको छ ।
एमालेले जनप्रतिनिधिले उम्मेदवार बन्नुअघि राजीनामा दिने व्यवस्था स्थानीय सरकारको निरन्तरताको सिद्धान्त र स्थानीय तह खाली गर्नै नहुने गरी संविधानले गरेको व्यवस्थाको प्रतिकुल भएको बताएको छ । र उसले यो व्यवस्थामा पुनर्विचार गर्न आग्रह गरेको छ ।


