काठमाडौं, २४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनमन्त्रीमा गोविन्दप्रसाद शर्मा काेइराला (बन्दी) लाई नियुक्त गरेकी छन् ।
नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले शर्मालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।
यसअघि, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभारको जिम्मेवारी दिइएको छ । उनलाई पनि राष्ट्रपति भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी हुन् ।
संविधान अनुसार कोइराला अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् । संविधानमा सभासद् नरहेको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ । गैह्र सांसद मन्त्री नियुक्त भएको ६ महिनाभित्र संघीय संसदको सदस्यता नलिए मन्त्री पद स्वतः खारेज हुन्छ ।