काठमाडौं, २४ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो ।
प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ । मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाइ र विवरण रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्नुहुन अनुरोध छ’ ।
यस्तै ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड÷रिमकार्ड खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ । निर्देशन बमोजिम सिमकार्ड तथा रिमकार्ड खरिद बिक्री नभएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।