अमेरिकाद्वारा पुटिनका छोरीसहित विश्वासपात्रलाई प्रतिबन्ध, जेलेन्स्कीको यस्तो टिप्पणी !
अखबार टुडे
प्रकाशित:
२०७८, २४ चैत्र

काठमाडौं, २४ चैत । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूसहित उनका अन्य विश्वासपात्रलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख बैंकहरु समावेश छन् । साथै रुसका धनाढ्यप्रति लक्षित रहेको पनि बताइएको छ ।

युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो । यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट भेटिएको थियो ।

रुसले भने प्रमाणबिना किएभले उक्त तस्बिर सार्वजनिक गरेको भन्दै पुटिनले यो घटनालाई किएभको सत्ताले गरेको अशिष्ट अनि स्वार्थपूर्ण उत्तेजनाको संज्ञा दिएका छन् ।

अमेरिकाले पुटिनका छोरीहरू लक्षित पछिल्ला प्रतिबन्धहरू किन लागु ग¥यो भन्ने प्रश्नमा बाइडन प्रशासनका एकजना वरिष्ठ अधिकारीले ’पुटिनको केही सम्पत्ति उनका छोरीहरूको नियन्त्रणमा रहेको हुनसक्ने’ आफूहरूको बुझाइ रहेको बताए ।

युक्रेनका राष्ट्रपतिले रुसमाथि लगाइएको थप प्रतिबन्धहरूको स्वागत गर्दै अझै पर्याप्त भने नरहेको उनले टिप्पणी गरे । आफ्नो पछिल्लो सम्बोधनका क्रममा भोलोदिमिर जेलेन्स्कीले रुसले उत्पादन गर्ने तेल बहिस्कार गर्न पश्चिमा मुलुकहरूलाई आग्रह गरे । उनले रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्ण रूपमा अलग्गै राख्नुपर्नेमा युक्रेनले जोड दिइरहने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया