काठमाडौं, २३ चैत । एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले अध्यक्ष प्रचण्डलाई केही मान्छेको परिबन्दमा परेर बालकोट पुगेको बताएका छन् ।
आज बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका डल्लाकोटीले भने, ‘केही मान्छेको परिबन्दमा परेर बालकोट पुगेँ । यसमा मेरो गल्ती भयो तर मलाई मैले बनाएको पार्टी कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु, म घर फर्केको छु ।’
भेटमा अध्यक्ष प्रचण्डले गल्ती गरेँ भनिसकेपछि अब काममा फर्कन निर्देशन दिएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
दुई दिनअघि एमाले प्रवेश गर्न बालकोट पुगेका डल्लाकोटीलाई अध्यक्ष प्रचण्डले फोन गरेर मलेखुमा माछा सँगै खाने भन्दै एमाले प्रवेश नगर्न आग्रह गर्दा उनले अश्वीकार गरेका थिए ।
डल्लाकोटी बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए । तर उनले मंगलबार विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए ।