इन्डोनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय
अखबार टुडे
प्रकाशित:
२०७८, २२ चैत्र

काठमाडौं, २२ चैत (एजेन्सी) । इन्डोनेसियामा छात्रालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ ।
इन्डोनेसियाको एक अदालतले १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै ती शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको छ ।

बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो । त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् । एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इन्डोनेसियाका धार्मिक विद्यालयहरुमा सुरक्षाको चिन्ता बढेको सीएनएनले जनाएको छ ।

प्रतिक्रिया