काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए ।
आइतबार बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।’
आसन्न स्थानीयतह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले विगतमा आपूm नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको पनि चर्चा गरे ।
नेपालको वामप्रजातान्त्रिक आन्दोलनका योद्धा स्व निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ स्थापना भएर सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । शिक्षालयले शिभिल इञ्जिनियरिङ, जोमेट्रिक इन्जिनियरिङ (अमिन, सर्भे), वनविज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, फार्मेसी र रेडियोग्राफी (रेडियोलोजी) विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा शिक्षालयले मधेस प्रदेशका माविलाई विभिन्न विषयको पठनपाठनको स्वीकृति दिने गरेको छ ।