माधवसहित १४ जना सांसदविरुद्धको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’ मा
अखबार टुडे
प्रकाशित:
२०७८, २० चैत्र

काठमाण्डौं, २० चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ ।

आइतबार उक्त रितमाथि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीले यसअघि नै एकीकृत समाजवादीकै सांसद सोमप्रसाद पाण्डेयलाई विपक्षी बनाएर दायर भएको रिटमा आफूहरूले आदेश दिएको र मुद्दा जोडिएकाले आफूहरूले सुनुवाइ गर्न नमिल्ने बताएपछि सुनुवाइ नभएको हो ।

ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरिएको र एमालेलाई विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको ओलीले जिकिर गरेका छन् ।

रिटमा विपक्षी बनाइएका निर्वाचन आयोगले पनि गैरकानुनी रूपमा दल दर्ता गरेको पनि रिटमा भनिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले २५ साउनमा नेपाल, झलनाथ खनालसहितका सांसदहरूलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्राचार गरेको थियो ।

पार्टी संसदीय दलको निर्देशनविपरीत विश्वासको मत दिन अनुपस्थित भएको भन्दै उनीहरूलाई कारबाही गरी पदमुक्तका लागि संसद् सचिवालयमा पत्राचार गरेका थिए । तर, सभामुख सापकोटाले पदमुक्त गर्न गरेको पत्राचारलाई बेवास्ता गर्दै नेपाललाई दल दर्ताका लागि अनुकूल राजनीतिक वातावरण बनाइदिएको आरोप छ । एमालेले यही एजेन्डालाई अघि सारेर प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया