प्रधानमन्त्री देउवा वाराणसीमा, आज स्वदेश फर्किंदै
अखबार टुडे
प्रकाशित:
२०७८, २० चैत्र

काठमाडौं, २० चैत । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन् ।

उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए । वाराणसीमा रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नेछन् ।

त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए । प्रधानमन्त्री देउवा आजै अपराह्न नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । देउवा सवा चार बजे काठमाण्डौ आउने तालिका रहेको छ ।

शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गर्नु भएको थियो । यस विषयमा भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ । भारतका विदेश सचिव हर्षवर्धन शृंगलाले पत्रकार सम्मेलन गर्दै सीमाका सम्बन्धमा वार्ता माध्यममार्फत जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्ने र यो विषयलाई राजनीतीकरण गर्न नहुने बताए । यस्तै, हिजो दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

प्रतिक्रिया