चरम आर्थिक संकटमा श्रीलंका, सामाजिक सञ्जाल पनि बन्द
अखबार टुडे
प्रकाशित:
२०७८, २० चैत्र

काठमाडौं, २० चैत । चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालसमेत खोल्न नसकिने बनाइएको छ ।

खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शनहरु सुरु भएसँगै सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको बताइएको छ । साथै, शनिबारदेखि ३६ घण्टे कर्फ्यू घोषणा गरिएको छ ।

राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति नलिई कसैले पनि सडक, उद्यान, रेल वा समुद्री तटमा जान नपाउनेगरी निषेधाज्ञा जारी गरेको बीबीसीले जनाएको छ ।

बिहीबार भिडले राष्ट्रपतिको निजी निवासबाहिर सवारीसाधनमा आगो लगाइदिएपछि थप विरोधप्रदर्शन नहोस् भनेर कडा प्रतिबन्धहरू लगाइएको हो । श्रीलंकामा संकटकाल घोषणा गरिएसँगै सेना परिचालन गरिएको छ । अहिले सेनाले बिनापक्राउ पुर्जी सन्दिग्ध व्यक्तिहरूलाई समात्न सक्ने जनाइएको छ ।

श्रीलंकामा बिजुलीको समेत अभाव देखापरेको बीबीसीले उल्लेख गरेको छ । आधा दिन वा त्योभन्दा बढी विद्युत आपूर्ति हुन सकेको छैन भने खाद्यान्न र औषधिको अभावका कारण सर्वसाधारण मानिसमा आक्रोश चुलिएको छ ।

राष्ट्रपति राजपक्षको कोलम्बोस्थित निवासबाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको तर प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शन हिंसात्मक भएको थियो । प्रदर्शनकारीले प्रहरीतिर ढुङ्गा हानेर प्रतिकार गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका थिए । भिडन्तमा कम्तीमा दुई दर्जन सुरक्षाकर्मी घाइते भएको एक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

प्रतिक्रिया