श्रीलंकामा आर्थिक संकट गहिरिएपछि राष्ट्रपति निवासमा आक्रमणको प्रयास, कोलम्बोमा कर्फ्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १८ चैत्र

काठमाडौं, १८ चैत (एजेनसी) । श्रीलंका गम्भीर आर्थिक संकट फसेपछि राष्ट्रपति निवासमा आक्रमणको प्रयास भएको छ ।

राष्ट्रपतिको गलत नीतिका कारण देश गम्भीर आर्थिक संकटमा फसेको र लाखौँ नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौँ प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमणको प्रयास गरेको हो।

निवासमा आक्रमणको प्रयास भइरहेका बेला राष्ट्रपति निवासमा थिए । प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बस र प्रहरीका गाडीमा आगो लगाइदिएका छन् भने वरपरका घरका पर्खाल समेत ढालिदिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार गएरातिको प्रदर्शन उग्र बनेपछि प्रशासनले राजधानी कोलम्बोमा कर्फ्यु लगाइएको छ । प्रहरीसँगको झडपमा एकजना गम्भीर घाइते भएको र कयौँ मानिस पक्राउ परेका खबरमा उल्लेख छ ।

दुई करोड २० लाख जनसंख्या रहेको श्रीलंका स्वतन्त्र भएयताकै चरम आर्थिक संकटमा रहेको छ । अत्यावश्यक सामग्री खरिदको लागि पनि विदेशी मुद्रा नभएपछि समस्या बढेको छ । पेपर किन्न नसक्दा विद्यार्थीको परीक्षा स्थगित भएको छ, अस्पतालमा शल्यक्रिया पनि प्रभावित भएका छन् ।

हिजोदेखि डिजलको बिक्री बन्द हुँदा सार्वजनिक यातायात र उद्योग ठप्प भएका छन् । निजी बस कम्पनीले सेवा दिन छाडेपछि सरकारले ग्यारेजमा रहेका पुराना बसको मर्मत गरेर सेवा दिने तयारी भइरहेको छ ।

प्रतिक्रिया